Rule 65
विशेष शिक्षा दिन विद्यालय खोल्न सक्ने
(१) कुनै संस्थाले चाहेमा यस नियमावली बमोजिम विशेष शिक्षा दिन विद्यालय खोल्न सक्नेछ ।
(२) यो नियमावली प्रारम्भ हु“दाका बखत नेपाल सरकारबाट अनुदान प्राप्त गरी विशेष शिक्षा सञ्चालन गरिरहेका संस्थाले उपनियम (१) बमोजिम सामुदायिक विद्यालय खोलेमा मन्त्रालयले त्यस्तो विद्यालयको लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गर्न सक्नेछ ।
(२क) उपनियम (२) बमोजिम शिक्षक व्यवस्था गर्दा त्यस्तो विद्यालयले यो उपनियम प्रारम्भ हुनु अघि संस्थाको हैसियतमा विशेष शिक्षा सञ्चालन गर्दा नेपाल सरकार वा विशेष शिक्षा परिषद्बाट शिक्षक तलबभत्ताको लागि अनुदान पाएको शिक्षक संख्यामा नबढ्ने गरी मात्र शिक्षक सङ्ख्याको व्यवस्था गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृत दरबन्दी अनुसार रिक्त पदमा त्यस्तो विद्यालयमा यो नियमावली प्रारम्भ हुँदाका बखत स्थायी रुपमा शिक्षक पदमा कार्यरत व्यक्तिलाई निज शिक्षक पदमा बहाल रहन सक्ने उमेरको अधीनमा रही आयोगले प्रचलित कानून बमोजिम शिक्षक पदमा नियुक्तिको लागि सिफारिस गर्नेछ र त्यसरी सिफारिस हुन उमेरको हद लाग्ने छैन ।
(४) उपनियम (३) बमोजिम आयोगले सिफारिस गरेको व्यक्तिलाई जिल्ला शिक्षा अधिकारीले शिक्षक पदमा नियुक्ति गर्नेछ ।
(५) उपनियम (४) बमोजिम नियुक्त भएको शिक्षकको उपनियम (२) बमोजिमको विशेष शिक्षा दिने संस्थामा स्थायी भएको मिति देखिको सेवा अवधि गणना हुनेछ ।
(६) यस नियम बमोजिम विशेष शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा, शर्त र सुविधा अन्य सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी सरह हुनेछ ।
(७) यस नियम बमोजिम नियुक्त शिक्षक विशेष शिक्षा दिने विद्यालयमा वाहेक अन्य विद्यालयमा सरुवा हुने छैन ।